काठमाडौँ । देशका शीर्ष राजनीतिक नेतृत्व, नवनिर्वाचित सांसददेखि चर्चित इन्फ्लुएन्सर सम्मको भूमिकामाथि प्रश्न उठाउँदै कारबाही सिफारिस गरेको राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालिन मेयर बालेन्द्र साहका सम्बन्धमा भने मौन देखिएको छ।
‘जेनजी’आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनको घटनाबारे आयोगले सार्वजनिक गरेको २९ पृष्ठ लामो प्रतिवेदनमा मेयर बालेन्द्र साहको भूमिकाबारे भने प्रतिवेदन कहिँ कतै उल्लेख गरिएको छैन।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, रास्वपा सभापति रवि लामिछाने समेतलाई मुख्य दोषीका रूपमा चित्रण गरिएको छ। तर, सामाजिक संजालमार्फत् बारम्बार अभिव्यक्ति दिँदै भीडलाई उत्तेजित बनाउने किसिमले आफ्ना धारणा सार्वजनिक गर्दै आएका बालेन्द्र साहमाथि भने आयोगले टिप्पणी समेत गरेको छैन।
आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि मानव अधिकार उल्लङ्घनमा जिम्मेवार ठहर्याउँदै कारबाहीको सिफारिस गरेको छ। तर, बालेन साहको उपस्थिति वा भूमिकाका बारेमा प्रतिवेदनले कुनै पनि तथ्य उल्लेख गरेको छैन। यद्यपि त्यतिबेला बालेनले आयोगलाई बयान दिएको विषय आयोग स्रोतबाटै बाहिरिएको थियो ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनको पृष्ठ २० र २७ मा आन्दोलनमा सहभागी वा अभिव्यक्ति दिने चर्चित व्यक्तित्वहरूको लामो सूची समावेश गरिएको छ। जसमा अभिनेता निश्चल बस्नेत, इन्फ्लुएन्सर सिसन बानियाँ, रवि किरण हमाल, भाग्य न्यौपानेलगायतका नामहरू उल्लेख छन्। तर, बालेन्द्र साहबारे भने आयोगले केहि बोलेको छैन।
यसअघि ‘जेनजी’आन्दोनलबारे अनुसन्धान गर्न गठित कार्की आयोगको प्रतिवेदनले पनि बालेन्द्र साहलाई छुँदै छोएन।बालेनको बयान आफ्नो प्रतिवेदनमा समेटेको कार्की आयोग उनीमाथि कारबाही गर्ने बिषयमा भने मौन देखियो । तर, आम सर्वसाधारणले भने बालेन साहले नै जेनजी आन्दोलनकारीलाई उक्साएको जिकिर गर्दै कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए। यधपि कार्की आयोगको प्रतिवेदन सरकारले अझैसम्म सार्वजनिक गरेको भने छैन।






