काठमाडौं । घाटा कम गर्न भन्दै निरन्तर भारी अन्तरले मूल्य बढाउँदै आएको नेपाल आयल निगम लिमिटेड १६ अर्ब ८६ करोड रुपैयाँ संचित नाफामा रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बुधबार प्रकाशित गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८३’ अनुसार आर्थिक वर्ष ०८१–८२ सम्ममा आयल निगम संचित नाफामा रहेको हो । यस आर्थिक वर्षमा मात्रै निगमले १३ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको छ ।
मध्यपूर्वमा तनाव बढेपछि संस्थागत घाटा कम गर्ने भन्दै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाइरहेको छ ।
संचित नाफाबाहेक निगमसँग २० अर्ब रुपैयाँभन्दा बढी रकम मूल्य स्थिरीकरण कोषमा रहेको मन्त्रालयले जनाएको छ । उक्त कोषको करिब आधा रकम अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य वृद्धि नगर्न प्रयोग गरिएको निगमको दाबी छ ।
यसका अतिरिक्त बोनस कोष, कर्मचारी आवास निर्माणलगायत शीर्षकमा पनि विभिन्न बैंकमा निगमको नगद मौज्दात रहेको जनाइएको छ ।
लगातार मूल्य वृद्धि गरिरहेको निगम चालु आर्थिक वर्ष ०८२–८३ को अन्त्यसम्म पनि संचित नाफामै रहने प्रक्षेपण गरिएको छ ।






