चितवन । गर्मीयामसँगै अण्डाको उत्पादन घटेपछि बजार मूल्य बढेको छ ।
नेपाल लेयर्स कुखुरापालक संघ ले आइतबार अण्डाको समर्थन मूल्य बढाएको हो ।
संघका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५१५ रुपैयाँ र मध्यम अण्डाको मूल्य ४८५ रुपैयाँ कायम गरिएको छ ।एउटा क्रेटमा ३० वटा अण्डा हुन्छन् ।
संघका सचिव मदन पोखरेल का अनुसार उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि ठूलो अण्डाको मूल्य ४८५ रुपैयाँ र मध्यम अण्डाको ४३५ रुपैयाँ थियो ।
संघका अध्यक्ष विनोद पोखरेल ले गर्मीका कारण उत्पादन घट्नु, कुखुरामा रोग फैलिनु तथा बिदाका कारण माग बढ्दा मूल्य वृद्धि भएको बताए ।
उनका अनुसार कुखुरापालन व्यवसायबाट किसान पलायन भइरहेका कारण जनशक्तिको अभावसमेत देखिएको छ ।
“कुखुरामा विभिन्न रोग लागेर मरेका छन्, त्यसले उत्पादन घटाएको छ,” उनले भने ।
अध्यक्ष पोखरेलले अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा रहेको बताए ।
किसानले अझै पनि लागतअनुसारको मूल्य नपाएको उनको भनाइ छ ।
संघले विभिन्न कृषि फार्मले निर्धारण गरेको मूल्यलाई आधार मानेर समर्थन मूल्य तय गर्ने गरेको जनाएको छ ।
देशका विभिन्न पोल्ट्री फार्मले ठूलो अण्डाको मूल्य प्रतिपेटी करिब ३ हजार ९५० रुपैयाँदेखि ३ हजार ९८० रुपैयाँसम्म कायम गरेका छन् ।
एउटा पेटीमा सात क्रेट अर्थात् २१० वटा अण्डा रहने संघले जनाएको छ ।
व्यवसायीका अनुसार पछिल्ला वर्षमा लागतअनुसार मूल्य नपाउनु, उत्पादन घट्नु र रोगको समस्या बढ्नुका कारण किसान कुखुरापालन व्यवसायबाट बाहिरिन थालेका छन् ।






