काठमाडौँ । सरकारले एक वर्षको अवधिमा ८५ अर्ब २३ करोड रुपैयाँ बराबरको भन्सार राजस्व छुट दिएको छ।
शुक्रबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा भन्सार राजस्व छुट दिइएको हो।
सरकारले आर्थिक वर्ष २०८०/८१ मा ७९ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ बराबर छुट दिइएको थियो । तर आर्थिक वर्ष २०८१/८२ मा सरकारले आर्थिक ऐनमा टेकेर थप भन्सार राजश्व छुट दिएको महालेखा प्रतिवेदनले औँल्याएको छ ।
प्रतिवेदन अनुसार आर्थिक ऐनबाट आन्तरिक राजस्वतर्फ समेत छूट दिएकोमा त्यसको अभिलेख अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले नराखे महालेखाले जनाएको छ । त्यस्तै, यो वर्ष सरकारले साफ्टा सुविधा अन्तर्गत माल वस्तु पैठारीमा भन्सार महसुल ५ अर्ब ७१ करोड छुट दिइएको छ ।
विभिन्न आयोजना तथा निर्माण व्यवसायी र सरकारी निकायलाई ६ अर्ब १२ करोड भन्सार महसुल छुट दिइएको छ । महसुल छुटले सरकारको राजस्व परिचालन समेत प्रभावित भएको महालेखाले औँल्याएको छ ।






