काठमाडौं । जेपी मोर्गन ले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर आसपास रहने प्रक्षेपण गरेको छ ।
बैंकको प्रतिवेदनअनुसार मध्यपूर्वमा जारी तनाव र स्ट्रेट अफ होर्मुज क्षेत्रमा कायम अवरोधका कारण विश्व आपूर्ति शृंखलामा दबाब बढेकाले तेलको मूल्य उच्च रहने अनुमान गरिएको हो ।
प्रतिवेदनमा सन् २०२६ भर औसत मूल्य प्रतिब्यारेल ९७ डलर रहने उल्लेख छ ।
इरान र अमेरिका बीच तनाव चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्यमा तीव्र वृद्धि भएको छ ।
हाल ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल करिब १०५ अमेरिकी डलर पुगेको बताइएको छ ।
युद्ध अन्त्यका लागि इरानले अघि सारेका सर्तमा सहमति हुन नसक्दा ऊर्जा बजार थप अस्थिर बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इरानले अमेरिकी दबाबमा नझुक्ने अडान दोहोर्याइरहेको छ ।
विश्व तेल आपूर्तिको करिब २० प्रतिशत ढुवानी हुने स्ट्रेट अफ होर्मुज क्षेत्रमा अवरोध कायम रहँदा आपूर्ति प्रणाली प्रभावित भएको छ ।
अप्रिल ८ मा युद्धविराम लागू भएपछि केही समय स्थिर देखिएको तेल बजार पुनः उकालो लागेको हो ।
साउदी अराम्को का प्रमुख अमिन नासिर ले स्थिति सामान्य अवस्थामा फर्किन समय लाग्ने बताएका छन् ।
यसबीच ओपेक ले तेल उत्पादनमा दैनिक ८ लाख ३० हजार ब्यारेलले कमी आएको जनाएको छ ।
हाल सदस्य राष्ट्रहरूबाट दैनिक २०.०४ मिलियन ब्यारेल तेल उत्पादन भइरहेको उल्लेख गरिएको छ ।






