काठमाडौं । स्नो रिभर्स ले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय र ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र १८ हजार ७५० कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ७ लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । निष्कासन छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते बन्द हुने जनाइएको छ ।
इक्रा नेपाल ले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिमयुक्त रहेको संकेत गर्ने जनाइएको छ ।
कम्पनीले १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ रहेको उल्लेख छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल ले गरिरहेको छ ।






