काठमाडौं । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको छ ।
इस्तानबुलबाट सोमबार बिहान काठमाडौं आएको टीके–७२६ कलसाइनको विमान ल्याण्ड गर्ने क्रममा चक्काबाट धुवाँसहित आगो निस्किएको विमानस्थल स्रोतले जनाएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवाल का अनुसार घटनालगत्तै दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो । उनका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन र सबै यात्रु सुरक्षित रहेका छन् ।
घटनापछि केही समयका लागि धावनमार्ग प्रभावित बनेको थियो । अहिले विमानलाई रनवेबाट ट्याक्सी–वे तर्फ सार्ने प्रयास भइरहेको र त्यसपछि प्राविधिक परीक्षण गरिने सुरक्षा कार्यालयले जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार विमानमा २७८ जना यात्रु तथा ११ जना चालक दलका सदस्य सवार थिए । केही संयुक्त राष्ट्रसंघीय कूटनीतिज्ञ समेत विमानमा रहेको बताइएको छ ।
यसअघि पनि विसं २०७१ सालमा टर्किस एयरलाइन्स कै विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त घटनापछि विमानस्थल चार दिनसम्म बन्द भएको थियो, तर मानवीय क्षति भने भएको थिएन ।






