काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कडा प्रतिक्रिया दिएका छन्।
शनिबार पार्टीका सांसदहरूलाई आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले प्रधानन्यायाधीश सिफारिस प्रक्रियाबारे उठेको विवादमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
प्रधानन्यायाधीश सिफारिसमा परम्परा मिचिएको भन्ने आरोपप्रति जवाफ दिँदै उनले संवैधानिक परिषद्को भूमिकामाथि प्रश्न उठाए।
उनले वरिष्ठताको आधारमै नियुक्ति गर्ने हो भने संवैधानिक परिषद्को आवश्यकता नपर्ने तर्क गरे।
उनले भने, “यदि स्वतः वरिष्ठतम् व्यक्तिलाई नै प्रधानन्यायाधीश बनाउने व्यवस्था हो भने संवैधानिक परिषद् किन चाहियो ? परिषद्ले सिफारिस गर्ने व्यवस्था नै किन राखियो ?”
लामिछानेले विगतमा भागबन्डाका आधारमा नियुक्ति हुने प्रवृत्तिलाई संकेत गर्दै अहिलेको निर्णयले पुरानो अभ्यास तोडेको दाबी गरे।
उनका अनुसार परम्पराको नाममा सीमित समूहबीच शक्ति बाँडफाँट हुने अवस्था अन्त्य हुनुपर्नेछ।
आफूमाथि आलोचना र आक्रोश व्यक्त गर्नेहरूलाई लक्षित गर्दै उनले चुनौतीपूर्ण अभिव्यक्ति पनि दिएका छन्।
उनले भने, “यदि मप्रति रिस छ भने मेरो घाँटी त्यहीँ छ, हतियार चलाइदिनुस्।”
साथै उनले अदालतलाई जनविश्वास कमजोर हुने खालका गतिविधिबाट टाढा रहन आग्रह गर्दै न्याय प्रणाली नागरिकमुखी हुनुपर्ने धारणा राखे।
“अदालत हाँसोको विषय बन्नु हुँदैन । आम नागरिकले सहज रूपमा न्याय पाउने वातावरण बनाउनुपर्छ,” उनले बताए।
प्रधानन्यायाधीश सिफारिसलाई लिएर यतिबेला न्यायपालिका, कानुन व्यवसायी र राजनीतिक वृत्तमा बहस चर्किरहेको छ।
वरिष्ठता मिचेर चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै सर्वोच्च अदालतभित्र समेत असन्तुष्टि देखिएको छ।






