काठमाडौं। गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनको कार्यालयले पूर्वविशिष्टहरूले दोहोरो सुविधामा लिएको सवारीसाधनको यथार्थ विवरण खोजेलगत्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी गाडी फिर्ता गरेका छन्।
एमाले अध्यक्षसमेत रहेका ओलीले बा१३च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी बुधबार फिर्ता गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।
प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीले कानुनले तोकेभन्दा बढी सवारीसाधन प्रयोग गरेको वा फरक–फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि गृहसँग स्पष्ट विवरण मागिएको थियो।
पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रिय सभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण बुधबारै कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरिएको थियो।
यसबारे प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले राज्यकोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्न सरकारले गाडी विवरण माग गरेको बताइन्।






