काठमाडौं — अमेरिका र इजरायलले करिब दुई महिनादेखि इरानविरुद्ध सञ्चालन गर्दै आएको सैन्य अभियान अन्त्य भएको घोषणा गरेका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको उक्त सैन्य कारबाहीको चरण पूरा भएको जानकारी दिएका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनले अब अमेरिका आक्रामक अवस्थाबाट रक्षात्मक रणनीतिमा फर्किएको स्पष्ट पारे।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उक्त अभियान समाप्त भएकोबारे कंग्रेसलाई जानकारी गराएका थिए।
रुबियोका अनुसार अबको प्राथमिकता इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्नुका साथै विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यमा व्यावसायिक आवतजावत पुनः सुचारु गराउनु हुनेछ।
यद्यपि, इरानबाट अमेरिकी सेना वा जलयानमाथि कुनै आक्रमण भए कडा प्रतिक्रिया जनाइने चेतावनी पनि उनले दिएका छन्। होर्मुज क्षेत्रमा जारी तनावका कारण हालसम्म १० सर्वसाधारणको मृत्यु भएको उनले पुष्टि गरे।






