काठमाडौँ । चर्चित गायक तथा फिल्म निर्माता रामकृष्ण ढकाल विवादमा तानिएका छन् । उनले सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रवि लामिछाने लाई आफूले गाडीमा राखेर लगेको दाबी गरेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भईरहेको छ ।
आफ्नै निर्माणमा तयार भएको फिल्म मालती मङ्गले को प्रमोसनका क्रममा दिएको अन्तर्वार्तामा ढकालले उक्त खुलासा गरेका हुन् । कार्यक्रमको एक सेग्मेन्टमा गत भदौ २४ गते नख्खु कारागारबाट लामिछाने निलो गाडीमा निस्किएको दृश्य देखाइएपछि उनले उक्त गाडी आफूले चलाएको बताएका थिए ।
ढकालका अनुसार उनी भैँसीपाटी क्षेत्रबाट घुम्दै जाँदा जेल नजिक पुगेका थिए । सो क्रममा जेलबाहिर रहेको रेस्टुरेन्ट नजिक लामिछानेसँग भेट भएपछि उनलाई गन्तव्यसम्म पुर्याउन आफूले जोखिम मोलेको दाबी उनले गरे । त्यतिबेला गाडी चालक समेत आफू नै रहेको उनले बताएका छन् ।
यसअघि उक्त घटनामा प्रयोग भएको गाडीबारे विभिन्न अड्कलबाजी भए पनि चालकको पहिचान सार्वजनिक भएको थिएन । सार्वजनिक भिडियोहरूमा चालकको अनुहार स्पष्ट देखिएको थिएन । तर अहिले ढकालले स्वयं उक्त भूमिकाबारे बोलेपछि विषयले नयाँ मोड लिएको छ ।
उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । कतिपय प्रयोगकर्ताले उनको फिल्म मालती मङ्गले बहिष्कार गर्नेसम्मका अभियान चलाइरहेका छन् भने केहीले कानुनी कारबाहीको माग समेत गरेका छन् ।






