भाउजुलाई बक्सा बुझाएर दाइबाट पाएका नियुक्ति खारेज गरिएका हुन्: मनिष झा

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पहुँच र उपहार बुझाएको भरमा बाँडिएका राजनीतिक नियुक्तिहरू सरकारले खारेज गरेको दावी गरेका छन्।

आइतबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अध्यादेशमार्फत एक हजार ५५८ वटा राजनीतिक नियुक्ति खारेज हुनु आवश्यक भएको बताए।

क्षमता र योग्यताभन्दा पनि भनसुनका आधारमा नियुक्ति दिने गरिएको भन्दै उनले अनावश्यक पदहरू खारेज हुनु स्वाभाविक रहेको जिकिर गरे।

‘ती व्यक्तिहरू क्षमताको आधारमा त्यहाँ जानुभएको थियो कि पहुँच वा भनसुनको आधारमा ?’ प्रश्न गर्दै प्रवक्ता झाले भने, ‘कि भाउजुलाई बक्सा दिएर दाइले नियुक्ति दिनुभएको थियो ? त्यो सबै कुरालाई एकचोटी रिभ्यु गर्नुपर्ने आवश्यकता छ।’

देशलाई आर्थिक भार थप्ने अनावश्यक पद र समितिहरू खारेज गर्दा राज्यको २ देखि ३ सय करोड रुपैयाँ जोगिने उनको दावी छ।

एउटै प्रकृतिको कामका लागि दोहोरो समिति बनाइएको उदाहरण दिँदै उनले भने, ‘भूमि दिने भनेर एउटा समिति गठन भएको छ, भूमि दिने कि नदिने भनेर निर्णय गर्न अर्को समिति बनाइएको छ। पत्रकारको तलब निर्धारण गर्न मात्रै पनि एउटा समिति बनाइएको छ। यस्ता अनावश्यक सिर्जना गरेर आफ्ना कार्यकर्ता र आफन्तको भर्ना गरिएको छ।’

अघिल्लो संसद्‌मा नै आफूले ११२ वटा आयोग तथा नियोगहरू आवश्यक नरहेको भन्दै कुरा उठाएको भन्दै उनले खारेजीमा परेका सबै व्यक्ति वा प्रक्रिया खराब नभए पनि राज्यलाई कुन पद आवश्यक छ वा छैन भनेर समीक्षा गर्नुपर्ने उपयुक्त समय आएको बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *