कार्यान्वयनयोग्य बजेटमा जोड, उच्च वृद्धिदर लक्ष्य चुनौतीपूर्ण : खनाल

काठमाडौं। पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाल ले आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षीभन्दा कार्यान्वयनयोग्य र यथार्थपरक हुनुपर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा बिहीबार आयोजित पूर्व-बजेट छलफल कार्यक्रममा बोल्दै उनले सरकारका केही प्रारम्भिक नीतिगत अडान सकारात्मक रहेको उल्लेख गरे।

विशेषगरी कर नीतिलाई आगामी १० वर्षसम्म स्थिर राख्ने प्रतिबद्धताले निजी क्षेत्रमा विश्वास बढाउने उनले बताए।

प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउन करिब १४.८७ प्रतिशत आर्थिक वृद्धि आवश्यक पर्ने उल्लेख गर्दै उनले हालको वृद्धिदरले उक्त लक्ष्य हासिल गर्न कठिन हुने बताए।

साथै, सरकारले घोषणा गरेको १५ लाख रोजगारी सिर्जनाबारे स्पष्टता आवश्यक रहेको भन्दै नयाँ रोजगारी हो वा पुरानाको प्रतिस्थापन भन्ने खुलाउनुपर्ने उनको भनाइ छ।

अर्थतन्त्र सुधारका लागि विभिन्न आयोगका सिफारिस कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले ऊर्जा पूर्वाधार विस्तार, विशेषगरी उच्च भोल्टेज प्रसारण लाइन निर्माणमा लगानी बढाउनुपर्ने बताए।

बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि कर्जाको माग नबढ्नु चिन्ताजनक रहेको उल्लेख गर्दै उनले वित्तीय उपकरणमार्फत बजारलाई चलायमान बनाउन सुझाव दिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *