सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशन: हिमालयन रिइन्स्योरेन्स लिमिटेडसहित ८ बीमा कम्पनीका संस्थापकलाई १५ दिनभित्र विवरण बुझाउन आदेश

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादित व्यवसायी दीपक भट्टसँग जोडिएको लगानीबारे अनुसन्धान सुरु गरेको छ।

विभागले हिमालयन रिइन्स्योरेन्स लिमिटेडसहित ८ वटा बीमा कम्पनीका संस्थापक शेयरधनीहरूलाई १५ दिनभित्र लगानीको स्रोत र भुक्तानी विवरण पेश गर्न निर्देशन दिएको छ।

अनुसन्धानमा नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स समेत परेका छन्।

विभागले जारी गरेको सूचनाअनुसार यी बीमा कम्पनीहरूले नेपाल बीमा प्राधिकरणबाट सञ्चालन अनुमति (लाइसेन्स) प्राप्त गर्ने समयमा ठूलो आर्थिक चलखेल भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो ।

संस्थापक शेयर खरिद गर्ने लगानीकर्ताहरूले कम्पनीको चुक्ता पुँजी बापत आधिकारिक रूपमा बुझाउनुपर्ने रकमबाहेक थप अतिरिक्त शुल्क विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खातामा बुझाएको सूचना विभागले पाएको छ।

सोही विषयलाई प्रस्ट पार्न विभागले संस्थापक शेयरधनीहरूसँग आधिकारिक प्रमाण माग गरेको जनाएको छ ।

विभागको सूचनामा भनिएको छ, ‘संस्थापक शेयर खरिद गर्ने महानुभावहरूले चुक्ता पुँजीबापत कम्पनीमा भुक्तानी गरेको बाहेक अतिरिक्त शुल्क (प्रिमियम) वापत विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खातामा बुझाएको रकमका हकमा के कति रकम, को–कस्को नाममा रहेको, के–कति नम्बरको, कुन बैंक तथा वित्तीय संस्थाको खातामा जम्मा गरेको हो भन्ने समेतका विवरण फरक नपर्ने गरी बुझाउनु होला।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *