काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँ ले महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानमा भएका लुटपाट घटनाको अनुसन्धानका क्रममा गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित सोमबार सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ककनी का २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, विदुर नगरपालिका का ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बु की १९ वर्षीया रीतिका माझी छन् ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराई ले उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार गत चैत १२, १९ र वैशाख ६ गते काठमाडौँका विभिन्न स्थानमा भएका सुन लुटपाट घटनाको अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाबाट १२.९० ग्राम सुन, पेचकस, ठूलो रेन्ची, साना रेन्ची, मोबाइल फोन, खुकुरी तथा हुडी, ट्राउजर र ज्याकेटलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
गिरोहलाई तारकेश्वर नगरपालिका–४ पैँयुटारबाट पक्राउ गरिएको हो । उनीहरूविरुद्ध प्रहरी वृत्त थानकोट बाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






