नेपालमा सामाजिक सञ्जाल दर्ता नहुँदा साइबर अपराध रोक्न प्रहरीलाई सकस भयो: आईजीपी

काठमाडौं । नेपालमा साइबर अपराधका घटना तीव्र रूपमा बढ्दै गएको भन्दै नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले सामाजिक सञ्जाल नियमनको अभावले नियन्त्रण झन् जटिल बनेको बताएका छन् ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले मोबाइल र इन्टरनेट प्रयोगकर्ताको संख्या बढेसँगै साइबर बुलिङका घटना पनि उल्लेख्य रूपमा बढेको बताए । सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा प्रयोगकर्ताको विवरण प्राप्त गर्न र आपत्तिजनक सामग्री हटाउन समस्या भइरहेको उनको भनाइ छ ।

हालसम्म TikTok, Viber, Nimbuzz, WeetokPoco Live मात्र नेपालमा आधिकारिक रूपमा दर्ता भएको जानकारी दिँदै उनले Meta Platforms अन्तर्गतका Facebook, InstagramWhatsApp नेपालमा दर्ता नहुँदा समस्या बढिरहेको बताए ।

कार्कीका अनुसार विशेषगरी महिला र युवावर्ग साइबर अपराधबाट बढी प्रभावित भइरहेका छन् । हालसम्म सामाजिक सञ्जालमा ४ हजारभन्दा बढी फेक एकाउन्टबाट घृणा फैलाउनेसम्बन्धी निवेदन दर्ता भएका छन् । साइबर बुलिङ तथा ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटना र वित्तीय अपराधसम्बन्धी १० हजारभन्दा बढी उजुरी परेको उनले जानकारी दिए ।

एकाउन्ट ह्याकिङ, अनलाइन ठगी, धम्की, यौनजन्य हिंसा तथा ब्ल्याकमेलिङका घटना पनि बढ्दो क्रममा रहेको उनले बताए । ‘हाम्रोमा साइबर बुलिङका घटना बढेको छ । १० हजारभन्दा बढी वित्तीय अपराधका उजुरी आएका छन्,’ उनले समितिमा भने ।

विदेशी कम्पनीद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्मको नेपालमा प्रत्यक्ष कार्यालय नहुँदा अनुसन्धानमा ढिलाइ हुने गरेको पनि उनले बताए । उनका अनुसार फेसबुक र Instagram जस्ता प्लेटफर्मबाट प्रयोगकर्ताको विवरण प्राप्त गर्न २०–२५ दिनसम्म लाग्ने गरेको छ भने सामान्य बुलिङका घटनामा एक साताभित्र प्रतिक्रिया आउने गरेको छ ।

गम्भीर प्रकृतिका घटनामा भने २४ घण्टाभित्र जानकारी प्राप्त हुने उनले बताए । तर, WhatsApp, Discord, X, Snapchat, Imo, WeChat, Reddit, YouTubeGmail जस्ता प्लेटफर्मबाट प्रयोगकर्ता विवरण वा आपत्तिजनक सामग्री हटाउने विषयमा पर्याप्त प्रतिक्रिया नआउने समस्या रहेको उनको भनाई छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *