काठमाडौं । आगामी दशकभित्र प्रतिव्यक्ति ऊर्जा खपत तीन गुणाले बढाउँदै विद्युत् निर्यातलाई मुख्य आम्दानीको स्रोत बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसमक्ष पेश गरिएको छ ।
मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त रणनीति बिहीबार बुझाइएको हो । मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय बुँदे कार्यसूची अन्तर्गत ऊर्जा खपत र निर्यात बढाउने उद्देश्यले उच्चस्तरीय अध्ययन समिति गठन गरिएको थियो ।
रणनीतिमा विद्युत्को आन्तरिक खपत उल्लेख्य रूपमा बढाउँदै त्यसपछि बचत हुने ऊर्जा निर्यात गर्ने दीर्घकालीन मार्गचित्र प्रस्तुत गरिएको छ । शतप्रतिशत घरधुरीमा विद्युतीकरण, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र विद्युतीय उपकरणको प्रयोग विस्तारलाई प्राथमिकतामा राखिएको छ ।
हाल प्रतिव्यक्ति करिब ४५० किलोवाट आवर रहेको ऊर्जा खपतलाई १० वर्षभित्र १ हजार ५ सय किलोवाट आवरसम्म पुर्याउने लक्ष्य राखिएको छ । एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै विद्युतीय उपकरणतर्फ आकर्षण बढाउने, सार्वजनिक यातायातमा विद्युतीय सवारी प्रवर्द्धन गर्ने र चार्जिङ पूर्वाधार विस्तार गर्ने योजना पनि रणनीतिमा समेटिएको छ ।
उद्योग क्षेत्रमा कोइला र पेट्रोलियममा आधारित बायलरलाई विद्युतीय प्रणालीबाट प्रतिस्थापन गर्ने तथा उपभोक्तामैत्री सिजनल महसुल दर लागू गर्ने प्रस्ताव गरिएको छ । यसबाट ऊर्जा उपयोगको दक्षता बढ्नुका साथै व्यापार घाटा घटाउने र विदेशी मुद्रा सञ्चिति मजबुत हुने अपेक्षा गरिएको छ ।
उत्पादनतर्फ जलाशययुक्त तथा अर्ध–जलाशययुक्त जलविद्युत् आयोजनाको हिस्सा बढाएर सुक्खा र वर्षायामबीचको उत्पादन असन्तुलन घटाउने लक्ष्य राखिएको छ । अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा विद्युत् निर्यात बढाउँदै विशेषगरी उच्च माग हुने साँझको समयमा निर्यात केन्द्रित गर्ने योजना अघि सारिएको छ । आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य रणनीतिमा उल्लेख छ ।
रणनीतिले सम्भावित जोखिम पहिचान गरी व्यवस्थापनका उपाय प्रस्ताव गरेको छ भने विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार र नेपाल विद्युत् प्राधिकरणमा संरचनात्मक सुधारलाई प्राथमिकता दिएको छ । प्रभावकारी कार्यान्वयनका लागि कडा अनुगमन प्रणाली अपनाइने र कार्यसम्पादनका आधारमा जिम्मेवारी सुनिश्चित गरिने जनाइएको छ ।






