पर्सा । वीरगञ्ज भन्सार कार्यालयमार्फत चालू आर्थिक वर्षको नौ महिनामा ७९ अर्ब ५४ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएका छन्।
कार्यालयका अनुसार यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० अर्ब १९ करोड रुपैयाँ, अर्थात् करिब १५ प्रतिशतले बढी हो। गत आवको नौ महिनामा ६९ अर्ब ३५ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए।
सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालू आवमा यस नाकाबाट हुने निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ।
निर्याततर्फ प्रशोधित भटमास तेलको हिस्सा सबैभन्दा ठूलो रहेको छ। चालू आवको नौ महिनामा ४३ अर्ब ६१ करोड रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ, जुन गत आवको सोही अवधिको ३६ अर्ब ६२ करोड रुपैयाँको तुलनामा बढेको हो।
यस्तै, फलफूलको जुस निर्यात पनि सामान्य रूपमा बढेको छ। चालू आवमा ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको जुस निर्यात भएको छ भने गत आवमा ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको थियो।
प्रशोधित पाम तेलको निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ। चालू आवको नौ महिनामा ५ अर्ब २४ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात भएको छ, जबकि गत आवको सोही अवधिमा ५९ करोड रुपैयाँ मात्र थियो।
तर, सूर्यमुखीको प्रशोधित तेल निर्यात भने घटेको छ। चालू आवमा ५ अर्ब ५ करोड रुपैयाँ बराबरको निर्यात हुँदा गत आवमा ६ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो।
यसैगरी, विभिन्न किसिमका कपडा २ अर्ब ६९ करोड रुपैयाँ र सिन्थेटिक यार्न १ अर्ब ९४ करोड रुपैयाँ बराबर निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।






