वैदेशिक व्यापारमा घाटा झनै बढ्यो, ९ महिनामा १२ खर्बभन्दा बढी नोक्सानी

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा नेपालको व्यापार घाटा थप चुलिएको छ । भन्सार विभागका अनुसार साउनदेखि चैत मसान्तसम्म १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ व्यापार घाटा भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.०४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ घाटा थियो ।

घाटा बढ्दै जाँदा आयात र निर्यात दुवैमा वृद्धि देखिएको छ । समीक्षा अवधिमा आयात १३.८३ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा १३ खर्ब ९ अर्ब रुपैयाँको आयात भएको थियो । निर्यात भने तुलनात्मक रूपमा तीव्र गतिमा बढेको छ । १८.४६ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको निर्यात गत वर्ष १ खर्ब ८८ अर्ब रुपैयाँमा सीमित थियो ।

कुल वैदेशिक व्यापार १४.४० प्रतिशतले विस्तार भएर १७ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा १४ खर्ब ९७ अर्ब रुपैयाँको व्यापार भएको थियो । तर व्यापार संरचना भने उस्तै असन्तुलित छ । कुल व्यापारमध्ये ८६.९९ प्रतिशत हिस्सा आयातको छ भने निर्यातको हिस्सा १३.०१ प्रतिशत मात्र छ ।

यस अवधिमा नेपालले १६७ देशसँग व्यापार गरेको छ । तीमध्ये ३५ देशसँग मात्र नाफा छ भने  १२२ देशसँग घाटा व्यहोर्नु परेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *