होर्मुज जलसन्धिमा तनाव: पानी जहाज आवागमन ठप्प, तेलको मूल्य आकाशिँदै

काठमाडौं — होर्मुज जलसन्धिमा सोमबार जहाज आवागमन झन्डै ठप्पजस्तै भएको छ। इरानले शनिबार जहाजहरूलाई चेतावनीस्वरूप गोली चलाएको तथा संयुक्त राज्य अमेरिकाको सेनाले इरानी मालवाहक जहाज जफत गरेको घटनापछि अधिकांश जहाजहरू उक्त मार्ग प्रयोग गर्न हिच्किचाउन थालेका हुन्।

जहाज ट्र्याकिङ तथ्यांकअनुसार सोमबार १२ घण्टाको अवधिमा जलसन्धिबाट बाहिरिने जहाज एउटा मात्र रहेको छ भने भित्रिने दुईवटा मात्रै थिए। सामान्य अवस्थामा भने दैनिक करिब १३० जहाज यस मार्गबाट आवत–जावत गर्ने गर्छन्।

शुक्रबार इरानले जलसन्धि खुला भएको घोषणा गरेपछि केही ट्यांकरहरूले आवागमन सुरु गरेका थिए। तर आइतबार अमेरिकाले इरानी कन्टेनर जहाज ‘तौस्का’ जफत गरेपछि अवस्था पुनः तनावग्रस्त बनेको हो।

घटनापछि इरानले प्रतिशोध लिने चेतावनी दिएको छ भने नयाँ शान्ति वार्तामा सहभागी हुन अस्वीकार गरेको जनाएको छ। यसले दुई देशबीचको युद्धविराम भंग हुने जोखिम बढाएको आकलन गरिएको छ।

CMA CGMले पनि शनिबार आफ्ना कन्टेनर जहाजमाथि इरानले चेतावनी गोली चलाएको पुष्टि गरेको छ। यद्यपि चालक दल सुरक्षित रहेको कम्पनीले जनाएको छ।

जहाज दलाल Clarksonsले सोमबार सार्वजनिक गरेको विश्लेषणमा पछिल्ला हप्ताहरूमा समाधानका संकेत देखिए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको उल्लेख छ।

जलसन्धिमा बढेको तनावले अन्तर्राष्ट्रिय तेल बजारमा तत्काल प्रभाव पारेको छ। युद्धविराम टुट्न सक्ने आशंकासँगै सोमबार कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले बढेको छ। Brent Crudeको मूल्य प्रति ब्यारेल ९४.७५ अमेरिकी डलर पुगेको छ भने West Texas Intermediate ८७.८२ डलर पुगेको छ।

यस्तै, जहाजको युद्ध जोखिम बीमा दर पनि बढेको छ। बीमा स्रोतका अनुसार यस्तो दर जहाजको मूल्यको दुई प्रतिशतबाट बढेर तीन प्रतिशत पुगेको छ।

उता डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले तेलको मूल्य नियन्त्रणमा राख्ने प्रयासस्वरूप शुक्रबार रुसी समुद्री तेलमाथिको प्रतिबन्धको छुट करिब एक महिनाका लागि नवीकरण गरेको छ। यसअघि स्कट बेसेन्टले उक्त छुट नवीकरण नहुने संकेत गरेका थिए।

यसैबीच भारतले थप तीन रुसी बीमा कम्पनीलाई मान्यता दिँदै जहाज बीमा उपलब्ध गराउन स्वीकृति दिएको छ। यससँगै भारतले मान्यता दिएका रुसी बीमा कम्पनीको संख्या ११ पुगेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *