काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ । न्यायाधीश हरि फुयाँल र शान्तिसिंह थापाको इजलासले उक्त निर्णय गरेको हो।
याे निर्णयसँगै अब मुद्दाको पेसीका दिन प्रधानमन्त्री शाह स्वयं उपस्थित हुनुपर्ने बाध्यता नरही उनका प्रतिनिधि (वारेस)मार्फत तारिख लिन सक्ने व्यवस्था भएको छ। यसअघि अदालतले यस्तो सुविधा दिएको थिएन।
शाहविरुद्धको यो अवहेलना मुद्दा विगत तीन वर्षदेखि सर्वोच्च अदालत मा विचाराधीन छ। २०८० सालको असारमा शाहविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना सम्बन्धमा निवेदन दर्ता गराएकी थिइन्। काठमाडौं महानगरपालिकाको मेयर हुँदा शाहले काठमाडौंका हलमा भारतीय चलचित्रको प्रदर्शनी रोकेका थिए। त्यसविरुद्ध परेको रिटमा उच्च अदालतले नरोक्न आदेश दिएको थियो। अदालतको आदेशको आलोचना गरेको भन्दै शाहविरुद्ध अवहेलनाको उजुरी दर्ता गरिएको थियो ।






