काठमाडौं । नेकपा एमाले को संस्थापन पक्षले विशेष महाधिवेशनको माग गर्दै चलाइएको हस्ताक्षर अभियान रोक्न आग्रह गरेको छ।
कार्यवाहक अध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल ले मंगलबार केन्द्रीय कार्यालय च्यासलमा अभियानमा संलग्न नेताहरूसँग छलफल गर्दै उक्त अभियान रोक्न निर्देशन दिएका हुन्।
छलफलमा बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया, युवा संघका उपमहासचिव उपेन्द्र शाही र अनेरास्ववियुका उपमहासचिव कमल जोशी सहभागी थिए।
संस्थापन पक्षले पार्टी सुधारमा असहमति नभए पनि तत्काल हस्ताक्षर अभियान रोक्न आग्रह गरेको थियो।
तर अभियानकर्ताहरूले पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन आवश्यक रहेको बताउँदै नेतृत्वले औपचारिक निर्णय गरेमा मात्रै अभियान रोकिने जवाफ दिएका छन्।
अध्यक्ष केपी शर्मा ओली लाई सम्बोधन गरिएको हस्ताक्षर अभियानमा पछिल्लो निर्वाचनमा कमजोर नतिजा आएको उल्लेख गर्दै विशेष महाधिवेशनको माग गरिएको छ।
अभियानमा प्रत्यक्षतर्फ १६५ सिटमध्ये ९ सिट र समानुपातिकतर्फ करिब १३ प्रतिशत मत मात्र प्राप्त हुनु नेतृत्वप्रति जनताको अविश्वासको संकेत भएको दाबी गरिएको छ।
पार्टी विधानअनुसार विशेष महाधिवेशनमार्फत संगठनात्मक विषय टुंगो लगाउन सकिने उल्लेख गर्दै केन्द्रीय कमिटीमार्फत छिट्टै महाधिवेशन आह्वान गर्न माग गरिएको छ।
यसैबीच, निर्वाचनपछि पार्टी पुनर्गठनको पक्षमा उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई, पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे, कर्ण थापा र आनन्द पोखरेल लगायत नेताहरू सक्रिय देखिएका छन्।






