काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रलाई केन्द्र बनाएर अवैध रूपमा क्रिप्टो करेन्सी र हुण्डीको कारोबार गरिरहेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले गोप्य सूचनाको आधारमा आइतबार साँझ चार जनालाई ३० लाख रुपैयाँ नगद र कारोबारमा प्रयोग हुने विद्युतीय उपकरणसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चितवन घर भई हाल झम्सिखेल बस्ने ३२ वर्षीय सवन अधिकारी, तारकेश्वरका २५ वर्षीय आशिष अधिकारी, ठमेल बस्ने ३२ वर्षीय रबिन जि.आर र इमाडोलका ३७ वर्षीय अनित्य शाक्य रहेका छन्।
उनीहरूको साथबाट ३० लाख रुपैयाँ नगदसहित विभिन्न कम्पनीका ६ थान मोबाइल फोन र एप्पल कम्पनीको एक थान म्याकबुक बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले क्रिप्टो करेन्सी खरिदबिक्री तथा हुण्डीमार्फत ठूलो रकम ओसारपसार गर्ने गरेको खुलेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत यस्तो अवैध वित्तीय कारोबार सञ्चालन गरेको आरोपमा उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।






