लागूपदार्थ सेवन गरेर सवारी चलाउनेविरुद्ध कडाइ

कञ्चनपुर — राजमार्ग क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले लागूपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकविरुद्ध कडाइ गरेको छ।

प्रहरीका अनुसार गत कात्तिकयता २२ जना चालक कारबाहीमा परेका छन्। पछिल्लो पटक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गरिएको छड्के जाँचका क्रममा चार जना चालक लागूपदार्थ सेवन गरेको अवस्थामा फेला परेका हुन्।

प्रहरी निरीक्षक बालेन्द्र नाथका अनुसार स्वास्थ्य कार्यालय र महाकाली अस्पतालको सहयोगमा १६ जना चालकको परीक्षण गर्दा चार जनामा लागूपदार्थ सेवन पुष्टि भएको हो। उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ।

प्रहरीले ‘ड्रग डिटेक्सन किट’ प्रयोग गरी चालकको ¥याल परीक्षणबाट सेवन पुष्टि गर्दै आएको छ। यसअघि मादक पदार्थ (मापसे) जाँच हुँदै आएकामा अब लागूपदार्थ जाँचसमेत सुरु गरिएको प्रहरीले जनाएको छ।

लागूपदार्थ सेवनले चालकको निर्णय क्षमता र प्रतिक्रिया समय कमजोर बनाउने भएकाले दुर्घटनाको जोखिम बढ्ने प्रहरीको भनाइ छ। राजमार्ग क्षेत्रमा यस्तो जाँच अभियानलाई निरन्तरता दिइने जनाइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *