वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

काठमाडौं। आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण सुरु गरिएको छ।

काठमाडौं महानगरले अस्पतालसँगको सहकार्यमा आज अस्पतालमा आयोजित कार्यक्रममा महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण सुरु गरिएको हो।

क्यान्सर परीक्षण आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ। परीक्षण शुभारम्भमा महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले क्यान्सर रोग समयमा पत्ता लगाउन सके जीवन बाँच्न सक्ने बताइन्।

‘जाँच गरेर समयमा क्यान्सर पहिचान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ। जीवन बचाउन सकिन्छ,’ उनले भनिन्। सोही क्रममा उनले आफ्नो पनि क्यान्सर परीक्षण गराइन्।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले यसअघि समयमा क्यान्सर पहिचान गर्न नसक्दा यो डरलाग्दो बनेको उल्लेख गरे।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिलिप शर्माले महिलाले पटकपटक क्यान्सर परीक्षण गर्नुपर्ने र क्यान्सर लाग्दैमा डराउनु नपर्ने बताए।

महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीले देशभरिका जोसुकै महिलाले अस्पतालमा गएर क्यान्सर परीक्षण गराउन सक्ने बताए।

उनका अनुसार क्यान्सर परीक्षणका लागि महानगरका ३२ वटा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट प्रेषण (रिफर) पुर्जी लिएर अस्पतालमा गएर क्यान्सर परीक्षण गराउन सकिने छ।

महिलाको क्यान्सर परीक्षणका लागि महानगरले अस्पताललाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *