कर्णाली। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ।
कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राती १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिए।
सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यमध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा व्यवस्था गर्न विधेयक र केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित भएको उनको भनाइ छ।
त्यस्तै, कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबुल र कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा तयार पारिएको ६ बुँदे संकल्पपत्रसमेत सभामा प्रस्तुत गरिएको उनले बताए।
सभामुख गुरुङका अनुसार सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठक गत माघ १८ गतेदेखि चैत १५ गतेसम्म गरी दस वटा बैठक बसेको र त्यसमा १३ घन्टा ४२ मिनेट व्यतीत भएको छ।






