काठमाडौँ । शनिबार बिहान पक्राउ परेका केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएको छ। मुटुको धड्कनमा केही उतारचढाव देखिएपछि उनलाई भिआइपी क्याबिनमा कार्डियोलोजिस्टको प्रत्यक्ष निगरानीमा राखिएको अस्पतालले जनाएको छ।
दुईपटक मिर्गौला प्रत्यारोपण गराइसकेका ओलीलाई एनेक्स–वान भवनको ५०१ नम्बर बेडमा आइसोलेसनमा राखिएको छ र २४ घण्टा निगरानीमा राख्ने तयारी गरिएको छ।
भक्तपुरस्थित निवासबाट पक्राउ परेका उनलाई प्रहरी परिसर हुँदै स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो। उनीसँगै रमेश लेखक पनि नियन्त्रणमा रहेका छन्।
जेन–जी आन्दोलनका क्रममा भएको मानवीय क्षतिसम्बन्धी लापरबाही र हेलचेक्र्याइँका आरोपमा दुवैलाई अनुसन्धानका लागि आइतबार अदालतमा उपस्थित गराई म्याद थप गर्ने तयारी गरिएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्दै प्रहरीले पक्राउ गरेको हो।






