इन्धन मूल्यवृद्धिले अर्थतन्त्रमा दबाबको संकेत

काठमाडौं । मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावका कारण इन्धनको मूल्यवृद्धिले दीर्घकालमा नेपालको अर्थतन्त्रमा दबाब पर्न सक्ने संकेत देखिएको छ। तत्काल भने विदेशी मुद्रा सञ्चिति बलियो रहेकाले ठूलो संकटको अवस्था नरहेको नेपाल राष्ट्र बैंक ले जनाएको छ।

राष्ट्र बैंकका अनुसार हालको सञ्चिति करिब १६–१८ महिनाको आयात धान्न पर्याप्त छ। तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गए भुक्तानी सन्तुलनमा दबाब बढ्ने जोखिम छ। नेपालले पेट्रोलियम पदार्थ पूर्ण रूपमा आयात गर्ने भएकाले मूल्यवृद्धिको सिधा असर उपभोक्ता र समग्र अर्थतन्त्रमा पर्ने देखिन्छ।

अध्ययनअनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य १ प्रतिशत बढ्दा नेपालमा मुद्रास्फीति करिब ०.१ प्रतिशतसम्म बढ्न सक्छ। यदि तेलको मूल्य उच्च स्तरमा पुगेमा इन्धन आयात खर्च दोब्बरभन्दा बढी हुन सक्ने आकलन गरिएको छ।

यस्तै, खाडी क्षेत्रमा तनाव बढे रेमिट्यान्स आप्रवाहमा समेत असर पर्न सक्ने चिन्ता छ। इन्धन आयात खर्च बढ्नु र रेमिट्यान्स घट्नु दुवै सँगै हुँदा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने सम्भावना रहेको राष्ट्र बैंकको निष्कर्ष छ।

इन्धन मूल्यवृद्धिले ढुवानी, उत्पादन र कृषि लागत बढाउने भएकाले समग्र मूल्यवृद्धिमा थप चाप पर्ने देखिन्छ। राष्ट्र बैंकले यस्तो जोखिम न्यूनीकरणका लागि ऊर्जा वैकल्पिक उपाय र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *