भोजपुर — केही वर्षअघिसम्म घरआँगनमा सीमित कफीका बोट देखिने भोजपुरमा अहिले व्यावसायिक खेती विस्तार हुन थालेको छ ।
बजार पहुँच सहज बनेपछि किसानहरू आयमूलक खेतीतर्फ आकर्षित भएका हुन् ।
उत्पादन घरबाटै बिक्री हुन थालेपछि आम्दानी बढेको किसान बताउँछन् ।
भोजपुर जिल्लाका हतुवागढी गाउँपालिकाका सिन्द्राङ, होम्ताङ, लुङ्गिन र लुङ्थुङ, रामप्रसादराई गाउँपालिकाको खोक्सिक, आमचोक गाउँपालिका, पौवादुङमा गाउँपालिका तथा षडानन्द नगरपालिकालगायत क्षेत्रमा कफीखेती विस्तार भइरहेको छ ।
यी क्षेत्रको माटो र हावापानी कफीका लागि उपयुक्त मानिन्छ ।
चालु आर्थिक वर्षमा संघीय सरकारको विशेष अनुदान र किसानको लागत साझेदारीमा करिब ३ करोड ३० लाख रुपैयाँ बराबरको कार्यक्रम सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ ।
उपयुक्त क्षेत्र पहिचान गरी योजनाबद्ध रूपमा खेती विस्तार भइरहेको बताइएको छ ।
रामप्रसादराई–८ खोक्सिकामा किसानले २२ रोपनीमा सामूहिक खेती सुरु गरेका छन् । परम्परागत बालीभन्दा कफीबाट राम्रो आम्दानी हुने अनुभव किसानको छ ।
यहाँ उत्पादित कफी धरान, इटहरी, विराटनगर र काठमाडौं हुँदै विदेशसम्म निर्यात हुने गरेको व्यवसायी बताउँछन् । अर्गानिक कफीको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दो छ ।
एक बोटबाट २५ देखि ३० केजीसम्म उत्पादन लिन सकिने किसानको भनाइ छ । खेती विस्तारसँगै उत्पादन र निर्यात दुवै बढ्दै गएको छ ।
कफीखेतीले किसानको आयआर्जन बढाउनुका साथै स्थानीय कृषि अर्थतन्त्र सुदृढ बनाउन टेवा पुर्याएको सरोकारवालाको भनाइ छ ।






