काठमाडौं। सुपर खुदी हाइड्रोपावरले आजदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुलाएको छ।
कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुलाएर बाँडफाँट गरेपछि सर्वसाधारणलाई निष्कासन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
यसमध्ये १५ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको थियो।
कम्पनीले बाँकी आईपीओमध्ये सामूहिक लगानी कोषका लागि ७७ हजार ५०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीलाई ३१ हजार कित्ता सुरक्षित गरी बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता सर्वसाधारणलाई निष्कासन गरेको हो।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा फागुन ११ र ढिलोमा फागुन १९ सम्म हुनेछ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ दिएको छ। यसले कम्पनीको दायित्व वहन क्षमता मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल रहेको छ।






