फागुन १७ गतेदेखि आईपीओ निष्काशन गर्दै शिखर पावर डेभलपमेन्ट

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि फागुन १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषलाई शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबर ३२ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो।

यसअघि ९ लाख ८० हजार कित्ता स्थानीय, २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भइसकेको छ।

अब ४४ हजार ४०० कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरिनेछ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस शेयरमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा फागुन २२ र ढिलोमा चैत १ गतेसम्म आवेदन दिन पाइनेछ।

इक्रा नेपालले कम्पनीलाई ‘डबल बी’ इस्यूअर रेटिङ दिएको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम संकेत गर्छ।

कम्पनीले ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजना सञ्चालनमा ल्याएको छ।

आयोजना २०८१ फागुन २५ देखि व्यावसायिक उत्पादनमा गएको कम्पनीले जनाएको छ। आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *