बेलायत पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने महिला पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीलाई ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

आकर्षक तलबको प्रलोभन देखाएर ७ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा नुवाकोटको तार्केश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौँ बस्ने ३६ वर्षीया कुमारी तामाङ पक्राउ परेकी हुन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङले दुई जना पीडितलाई बेलायत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेकी थिइन्।

विदेश नपठाई रकम लिएर सम्पर्क विहीन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा प्रहरीले उनको खोजी सुरु गरेको थियो।

अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई माघ २१ गते काठमाडौं महानगरपालिका वडा नं. १२ बाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेकी उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *