काठमाडौँ। मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकका लागि ‘मन्जुश्री सुपर सेफ लकर’ सुविधा सुरु गरेको छ।
ग्राहकको धनमालको सुरक्षालाई ध्यानमा राख्दै उच्च प्रविधियुक्त लकर सेवा सञ्चालनमा ल्याइएको हो।
यसअघि फाइनान्सले ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सुविधा समेत उपलब्ध गराइसकेको छ। फाइनान्सका ग्राहकले कुनै सेक्युरिटी डिपोजिट बिना लकर सेवा लिन सक्नेछन्।
यो सुविधा सीमित अवधिका लागि उपलब्ध हुनेछ। लकरहरू फायरप्रुफ, उच्च सुरक्षा प्रणालीसहित नियन्त्रित वातावरणमा उपलब्ध छन्।
यो सुविधा हाल थापाथली र न्यूरोड शाखामा सेवा सुरु गरिएको छ। मन्जुश्री फाइनान्सको कुनै पनि शाखामा खाता भएका ग्राहकले आफूलाई सहज लाग्ने शाखामा गई सेवा लिन सक्ने कम्पनीले जनाएको छ।
फाइनान्सले हालै सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले अतिकांस सूचकांकमा उल्लेख प्रगति गरेको छ।
फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो।
गत वर्ष यही अवधिमा फाइनान्सको खुद नाफा ११ करोड ७० लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.८१ प्रतिशतले बढेर ४५ करोड ३२ लाख रुपैयाँ पुगेको छ।
यद्यपि, खुद शुल्क तथा कमिशन आम्दानी भने सामान्य रूपमा घट्दै ५ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ५ करोड ९९ लाख रुपैयाँ थियो।
फाइनान्सको रिटेन्ड अर्निङ ३४.१५ प्रतिशतले घटेर २३ करोड ५६ लाख रुपैयाँमा झरेको छ।
रिजर्भ भने बढ्दै अघिल्लो वर्षको ७३ करोड ५४ लाख रुपैयाँबाट ७८ करोड २० लाख रुपैयाँ पुगेको छ।
कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) मा पनि सुधार देखिएको छ। फाइनान्सले २२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।
वितरणयोग्य नाफा २३ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।
प्रति सेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ७१ पैसाले बढेर २० रुपैयाँ ३ पैसा पुगेको छ।
त्यस्तै, प्रति सेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३९.८९ गुणा कायम भएको छ।
कम्पनीको तरलता अनुपात २३.५२ प्रतिशत रहेको छ। पछिल्लो विवरणअनुसार कम्पनीसँग २८ शाखा र १ लाख ८५ हजारभन्दा बढी ग्राहक रहेका छन्।






