नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा डेढ अर्बमै खुम्चियो, वित्तीय सूचक ऋणात्मक

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकले चालू आवको पुससम्म १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ थियो। दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद नाफा ४३ प्रतिशतले घटेको हो।

कर्जाको मागमा कमी आउनु र ब्याजदरमा परिवर्तन हुँदा बैंकले अपेक्षित नाफा कमाउन नसकेको वित्तीय विवरणमा देखिएको छ।
बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ।

गत आवको पुससम्म ७ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा चालू आवको सोही अवधिमा १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड ३ लाख रुपैयाँमा झरेको छ।

यस्तै, बैंकको कुल सञ्चालन आम्दानीमा पनि गिरावट देखिएको छ। गत आवको दोस्रो त्रैमाससम्म बैंकले ९ अर्ब १ करोड २२ लाख कुल सञ्चालन आम्दानी गरेकामा चालू आवको दोस्रो त्रैमाससम्म घटेर ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँमा सीमित हुन पुगेको छ।

आम्दानीमा गिरावट आएपछि बैंकको सञ्चालन नाफा पनि घटेको छ। वित्तीय विवरणअनुसार गत आव पुससम्म ४ अर्ब ४ करोड ३३ अर्ब रुपैयाँ सञ्चालन नाफा गरेको बैंकको चालू आव पुससम्म यस्तो नाफा घटेर २ अर्ब ३३ करोड ८७ लाख रुपैयाँमा झरेको छ।

बैंकको प्रतिशेयर आम्दानी पनि १६.६० रुपैयाँबाट घटेर ९.४५ रुपैयाँमा पुगेको छ।

बैंकको खराब कर्जा (एनपीएल) ५.८६ प्रतिशत रहेकामा चालू आवको पुससम्म बढेर ७.९० प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १९४.७७ रुपैयाँ छ।

चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रहेको बैंकको  जगेडा कोषमा ३ अर्ब ६१ करोड १० लाख रुपैयाँ ऋणात्मक भए पनि रिजर्भ कोषमा ३५ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ सञ्चिति रहेको छ।

बैंकले ३ खर्ब २८ अर्ब १६ करोड कर्जा प्रवाह गरी ५ खर्ब १९ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको वित्तीय विवरणमा उल्लेख छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *