काठमाडौं: भुजुङ हाइड्रोपावर लिमिटेडले आज माघ १२ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
कम्पनीले ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।
यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते हुनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ९० लाख रहेको छ।
सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष बाँकी रहेको छ।
यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष रहेको छ।
सो जलविद्युत आयोजनाबाट कम्पनीले २०८१ वैशाख ६ गतेदेखि नै विद्युत उत्पादन गरिरहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।
Artha Sanjal






