काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । प्रतिऔंस सुन पहिलो पटक ५ हजार अमेरिकी डलर नाघेको हो । सन् २०२५ मा ६० प्रतिशतभन्दा बढीले बढिसकेको सुनको भाउ यस वर्ष पनि उकालो यात्रामै छ ।
ग्रीनल्याण्ड विषयलाई लिएर अमेरिका र नेटोबीच बढेको तनाव, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीति तथा विश्वव्यापी वित्तीय–भू–राजनीतिक अनिश्चयले लगानीकर्तालाई सुरक्षित विकल्पतर्फ धकेलेको विश्लेषण गरिएको छ ।
मुद्रास्फीति, कमजोर डलर, केन्द्रीय बैंकहरूको सुन सञ्चिति वृद्धि र अमेरिकी फेडरल रिजर्भले ब्याजदर घटाउने अपेक्षाले पनि सुनको माग बढाएको छ । युक्रेन र गाजाको युद्ध तथा भेनेजुएलासम्बन्धी तनावले समेत मूल्य उकास्न सहयोग पुगेको छ ।
यसैबीच चाँदीको मूल्यले पनि रेकर्ड बनाउँदै प्रतिऔंस १०० डलर नाघेको छ । गत वर्ष मात्रै चाँदीको मूल्य करिब १५० प्रतिशतले बढेको थियो ।






