काठमाडौं। नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को सुरु हुँदा कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा पुस मसान्तसम्ममा एक खर्ब ३२ अर्ब ३४ करोड थप वृद्धि भई २८ खर्ब छ अर्ब ३९ करोड पुगेको हो।
हाल सरकारले तिर्न बाँकी कूल सरकारी ऋण कूल गार्हस्थ्य उत्पादनको ४५ दशमलव ९५ प्रतिशत बराबर हुन आउँछ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३ प्रतिशतअर्थात् १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख र आन्तरिक ऋणको हिस्सा ४७ प्रतिशतअर्थात् १३ खर्ब १९ अर्ब १३ करोड १० लाख रहेको छ।
कूल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६० र बाह्य ऋणको अनुपात २४ दशमलव ३५ प्रतिशत रहेको छ।
सरकारले चालु आवका लागि पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ।
अर्धवार्षिक समीक्षा अवधिसम्ममा रु दुई खर्ब १४ अर्ब ५५ करोड प्राप्ति भइसकेको छ। जुन वार्षिक लक्ष्यको ३६ दशमलव ०२ प्रतिशत हुन आउँछ।






