‘संचालक अम्बिका लामिछानेबाटै लुटियो बैंक’

काठमाडौं । प्रभु बैंक लिमिटेडकी सञ्चालक अम्बिका शर्मा लामिछानेले पदको दुरुपयोग गर्दै बैंकको स्रोत–साधन आफ्नै परिवारसँग जोडिएको कम्पनीमार्फत प्रयोग गरेको बिषय  सार्वजनिक रूपमै उठेको छ।

बैंकको २४औँ वार्षिक साधारणसभामा लगानीकर्ता सौरभ भण्डारीले लामिछानेको नामै किटान गर्दै नैतिकता, सुशासन र कानुनी मापदण्डमाथि प्रश्न उठाएका हुन्।

भण्डारीका अनुसार लामिछानेले आफ्नै छोरा सुबास शर्माको नाममा ‘सरस्वती इभेन्ट्स प्रालि’ दर्ता गरी सन् २०२१ यता प्रभु बैंकबाट विज्ञापन खर्च शीर्षकमा मासिक पाँच लाख रुपैयाँभन्दा बढी रकम लिँदै आएकी छन्। उनले उक्त कम्पनीको नाममा पटक–पटक पाँच लाख, आठ लाख र १३ लाख रुपैयाँसम्म भुक्तानी गरिएको प्रमाणसहित नेपाल राष्ट्र बैंकमा उजुरी परिसकेको बताए।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) र नेपाल राष्ट्र बैंकका एकीकृत निर्देशनअनुसार सञ्चालकले आफ्नो पदको दुरुपयोग गरी आफूसँग सरोकार रहेको व्यक्ति वा संस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष लाभ हुने गरी कारोबार गर्न नपाउने स्पष्ट  व्यवस्था छ। साथै, ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ देखिने कुनै पनि निर्णय प्रक्रियाबाट सञ्चालक स्वयं अलग रहनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ। भण्डारीले लामिछानेको हकमा यही कानुनी प्रावधान उल्लंघन भएको दाबी गरेका छन्।

तर, उजुरी परे पनि राष्ट्र बैंकले अहिलेसम्म लामिछानेसँग स्पष्टीकरणसमेत माग नगरेको भण्डारीको आरोप छ।

आज केन्द्रिय कार्यलय बबरमहलमा भएको साधारणसभामा उनले भने, “आज बैंक लुटिएको खबर सुनिन्छ, तर प्रभु बैंक लुट्न बाहिरका मान्छे आउनै पर्दैन, यहीँ छन्।”

आरोपबारे लामिछानेले भने उक्त कम्पनी छोराको नाममा रहेको र आफू छोरासँग सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै आफ्नो संलग्नता नरहेको हास्यास्पद जवाफ दिँदै आएकी छन्।

कानुनविद्हरूका अनुसार पारिवारिक सम्बन्धको औपचारिक अवस्था जे भए पनि लाभको अन्तिम स्रोत र नियन्त्रण कसको हातमा छ भन्ने विषय अनुसन्धानको मूल प्रश्न हुन्छ। सञ्चालकको प्रभावमा बैंकको रकम सरोकारवाला व्यक्तिको कम्पनीमा गएको पुष्टि भएमा त्यो बाफिया र राष्ट्र बैंकको निर्देशन उल्लंघन मानिन्छ।

लामिछानेको दावीमाथि व्यङ्ग्य गर्दै भण्डारीले भने, “पहिले श्रीमानसँग डिभोर्स हुन्थ्यो, अहिले छोरासँगै हुने भएछ, कस्तो अचम्म।”

लगानीकर्ताले वर्षौँदेखि प्रतिफल नपाइरहेका बेला बैंकको नीति–निर्देशन तहमा बसेकी सञ्चालकबाट यस्ता गतिविधि हुनु गम्भीर विषय भएको भण्डारीको भनाइ छ। “सरस्वती इभेन्ट्स प्रालिको नाममा गएको पैसा के प्रयोजनका लागि खर्च भयो भन्ने कुरा खोज्न गाह्रो छैन, तर खोज्ने आँट चाहियो,” उनले भने।

भण्डारीले नियामक निकाय नेपाल राष्ट्र बैंकले कानुनअनुसार कारबाही गर्नुको साटो उल्टै संरक्षण गरिरहेको आरोप लगाए। उनले नियामक र राजनीतिक शक्तिबीच साँठगाँठ भएको आसंका व्यक्त गरे ।

उनले बोर्ड सदस्यहरूलाई पनि सामूहिक जिम्मेवारीबाट उम्किन नमिल्ने भन्दै समयमै गल्ती सच्याउन चेतावनी दिएका छन्।

“फूलको माला लगाउने कि जुत्ताको माला लगाउने भन्ने निर्णय तपाईंहरूकै हातमा छ,” भन्दै भण्डारीले बैंक व्यवस्थापन, सञ्चालक समिति र नियामक निकायलाई कानुन र सुशासनको दायरामा रहेर निर्णय गर्न सार्वजनिक रूपमा चेतावनी दिएका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *