बारा । बाराका किसानहरू यतिबेला उत्पादन गरेको आलुले उचित मूल्य नपाउँदा चिन्तामा छन् । व्यापारीहरू खेतमै पुगेर आलु उठाउने गरे पनि लागतअनुसारको भाउ नपाएको किसानको गुनासो छ ।
कलैया उपमहानगरपालिका–१० मट्टीअर्वाका रोज मियाँ दर्जीले यस वर्ष २ बिघा १० कट्ठामा आलु खेती गरेका छन् । असोजको दोस्रो सातामा रोपिएको आलु उनले यसै साता भित्र्याएका हुन् । व्यापारीहरू बारीमै आएर आलु किने पनि अपेक्षित मूल्य नपाएको उनले बताए ।
उनका अनुसार व्यापारीहरूले प्रतिकिलो २० रुपैयाँका दरले आलु खरिद गरेका छन् । ‘बिउमै करिब ९० हजार रुपैयाँ खर्च भयो, मलखादमा ८० हजारभन्दा बढी गयो,’ दर्जीले भने, ‘औषधि र जोताइको खर्च पनि कम छैन । नेपालमा मल सहजै पाइँदैन, डीएपी, युरिया र पोटास भारतबाट ल्याउनुपर्छ ।’
भारतसँग जोडिएको सीमावर्ती क्षेत्र भएकाले कलैयाको मट्टीअर्वा नाकाबाट ठूलो परिमाणमा आलु नेपाल भित्रिने गरेको किसानहरूको भनाइ छ । ‘भारतबाट चोरी बाटो हुँदै ट्याक्टरमा सस्तो आलु भित्रिँदा हाम्रो आलुले बजार पाउन सकेन,’ दर्जीले गुनासो गरे ।
स्थानीय कृषकका अनुसार उपभोक्ताले बजारमा आलु ५० देखि ६० रुपैयाँ प्रतिकिलो तिर्नुपरेको छ, तर किसानले भने २० रुपैयाँ प्रतिकिलोमै बेच्न बाध्य छन् । रोपाइँका बेला ४० रुपैयाँ प्रतिकिलोमा बिउ किने किसानले यति मेहनतपछि पनि आधा मूल्यसमेत नपाएको बताएका छन् ।
व्यावसायिक रूपमा वर्षौंदेखि आलुखेती गर्दै आएका किसानहरूले पछिल्ला वर्षमा उत्पादकत्व पनि घट्दै गएको बताए । केही वर्षअघिसम्म प्रतिकट्ठा १० क्विन्टलसम्म उत्पादन हुने खेतमा अहिले ५ देखि ६ क्विन्टल मात्र आलु फल्न थालेको उनीहरूको भनाइ छ । यस वर्ष बेमौसमी वर्षाले समेत बालीमा क्षति पुर्याएको किसानले बताए ।
मट्टीअर्वाकै अर्का किसान अनोहर मियाँले यस वर्ष १२ कट्ठामा आलु लगाएका छन् । मलखाद, जोताइ र गोडमेलमा ठूलो खर्च लाग्ने बताउँदै उनले भारतबाट चोरी तस्करी गरी आउने आलुले नेपाली किसानलाई थप मर्का परेको बताए ।
बारामा उत्पादन भएको आलु व्यापारीहरूले वीरगञ्ज, नारायणगढ, जनकपुर र काठमाडौँलगायतका बजारमा पुर्याउने गर्छन् । पचरौता नगरपालिका–३ रामनगरका आलु व्यवसायी राजेशलाल सहनीले ग्रामीण भेगका खेतसम्म पुगेर आलु उठाउने गरेको बताए । ‘हामी साना व्यापारीलाई पनि सजिलो छैन,’ उनले भने, ‘आलु बोकेको गाडीलाई ठाउँठाउँमा रोकेर प्रहरीले दुःख दिन्छ ।’
व्यापारीहरूका अनुसार पचरौता, सुवर्ण गाउँपालिका र कलैया उपमहानगरपालिकाका ग्रामीण क्षेत्र बारामा राम्रो आलु उत्पादन हुने क्षेत्र हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले खुला सीमाबाट आलु आयात भइरहेको विषयमा हालसम्म कुनै औपचारिक सूचना नआएको बताए । यदि त्यस्तो गतिविधि भएमा निगरानी बढाइने उनले जानकारी दिए ।






