इरानी प्रयोगकर्तालाई मस्कको स्टारलिंकद्वारा निःशुल्क इन्टरनेट सेवा

तेहरान । अमेरिकी खर्बपति एलन मस्कको सेटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले इरानका प्रयोगकर्तालाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

सरकारविरोधी आन्दोलन चर्किँदै जाँदा हताहतको संख्या बढिरहेका बेला स्टारलिंकले अस्थायी रूपमा निःशुल्क कनेक्टिभिटी दिएको हो ।

यसअघि इरानमा निष्क्रिय रहेको स्टारलिंकका खातामा हाल कनेक्शन देखिन थालेको बताइएको छ ।

प्राविधिक गैरनाफामुखी संस्था होलिस्टिक रिसिलेन्सका कार्यकारी निर्देशक अहमद अहमदियनका अनुसार मंगलबारसम्मका लागि सब्सक्रिप्शन शुल्कसमेत मिनाहा गरिएको छ ।

यो कदम इरानमा इन्टरनेट सेवा पुनःसञ्चालनका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कबीच यस हप्ताको सुरुआतमा भएको छलफलपछि चालिएको बताइएको छ ।

यद्यपि यसबारे स्पेस एक्स र ह्वाइट हाउसले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।सरकारविरोधी प्रदर्शन हिंस्रक बन्दै जाँदा इरानमा मृत्यु हुनेको संख्या २ हजार नाघिसकेको छ ।

आन्दोलन फैलिन नदिन भन्दै सरकारले कयौँ दिनदेखि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध गरेको थियो । यस्तो अवस्थामा सरकारले स्टारलिंकको सेवालाई समेत अवरुद्ध गर्न सक्ने आशंका विज्ञहरूले व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *