काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रत्यक्षतर्फका आकाङ्क्षी उम्मेदवारहरूका लागि आचारसंहिता लागू गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाबाट प्रत्यक्ष तर्फका आकाङ्क्षी उम्मेदवारहरूमध्ये केहीले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको देखिएपछि आचारसंहिता लागू गरिएको हो ।
यस प्रकारका गतिविधिले नयाँ तथा बाँकी आकाङ्क्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचार–प्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन दिइएको उम्मेदवार छनोट सिफारिस उपसमितिले जनाएको छ ।
उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटो सहित वा बिना फोटो सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको छ।
प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा, प्राइमरी निर्वाचन सम्बन्धी सूचना प्रकाशित भए पश्चात् मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिका बाट प्रचार–प्रसार गर्न सकिनेछ आचारसंहितामा उल्लेख गरिएको छ ।
पार्टीको निर्वाचन सम्बन्धी आचारसंहिता पूर्ण पालना गर्न सबै सम्बन्धित सदस्यहरूमा अनुरोध गरिएको छ ।
Artha Sanjal






