काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकश शर्माको अगुवाइमा विशेष महाधिवेशन आह्वान भएसँगै पार्टी विभाजन हुने आशंका बढाएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य नरहेको बताइरहँदा महामन्त्रीद्वय भने जसरी पनि विशेष महाधिवेशन गराउने पक्षमा दृढ देखिएका छन् ।
गत असोज २९ गते नेपाली कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै गरेको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएपछि पार्टीभित्र देखिएको विवाद पछिल्लो समय चरमोत्कर्षमा पुगेको छ ।
- विशेष महाधिवेशन किन ?
महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर हस्ताक्षर बुझाउँदा ४ वटा विषय उल्लेख गरेका थिए । उनीहरूको हस्ताक्षरसहित कार्यवाहक सभापति खड्कालाई बुझाइएको पत्रमा वर्तमान राजनीतिक संकटको गम्भीर समीक्षा, नेतृत्व परिवर्तन र केन्द्रीय कार्यसमितिको निर्वाचन, समयानुकूल नीति निर्माण र विधान संशोधनमार्फत पार्टी संरचनामा सुधार गर्नुपर्ने उल्लेख छ ।
‘हामी विधानको धारा १७(२) बमोजिम मंसिर २१, २०८२ भित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बोलाउन जोडदार माग गर्छौं । यो महाधिवेशनले नेपाली कांग्रेसलाई नयाँ ऊर्जा र दिशा प्रदान गर्नेछ, जसले लोकतन्त्र, संविधान र जनअपेक्षाको रक्षा गर्दै पार्टीलाई सशक्त नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्नेछ,’ आफ्ना ४ विषयसँगै विशेष महाधिवेशन मागकर्ताहरूले पत्रमा लेखेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले नियमित महाधिवेशनको कार्यतालिका सर्वसम्मत पास गरेकाले त्यसै दिनबाट विशेष महाविधेशनको औचित्य सकिएको कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । ‘२०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत् निर्णय गरी पार्टीको विधान बमोजिम महाधिवेशनको प्रक्रिया अघि बढिसकेको सबैलाई अवगत नै छ ।
यसरी नियमित १५औँ महाधिवेशनको कार्यतालिका बमोजिम आवश्यक प्रक्रिया अघि बढिसकेको सन्दर्भमा विधान बमोजिम समयमै नियमित १५औँ महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको २०८२ पौष १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्पष्ट गरिसकेको छ,’ केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ‘निर्देशानुसार’ भन्दै पुस २३ गते विज्ञप्ति जारी गरेर प्रस्ट पारेका छन् ।


केन्द्रीय कार्यालयको त्यो विज्ञप्तिलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनौती दिए । पुस २७ र २८ गतेका लागि बोलाइएको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्दै उनीहरूले संयुक्त विज्ञप्ति जारी गरे । थापा र शर्माले विज्ञप्तिमा लेखेका छन्, ‘विधान बमोजिम निवेदन दिइसकेपछि विशेष महाधिवेशन नसक्ने अवस्थाको परिकल्पना नेपाली कांग्रेसको विधानले गरेको छैन ।
विधान बमोजिम कारणसहित माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन । यस्तो अवस्थामा विधानसम्मत माग बेवारिसे हुन सक्दैन, महाधिवेशन आफैँ क्रियाशील हुन्छ र तोकिएको समयसीमाभित्र विशेष महाधिवेशन हुन्छ भन्ने कुरा हामीले पार्टी बैठकमा पटक–पटक राखेका हौँ । बहुमत महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता छ ।’
_vQtYdj3BrM.jpg)
_02oyA1OKvG.jpg)
बुधबार नै महाधिवेशन मागकर्ताहरूले नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गर्दै सहभागी हुन देशभरका महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका थिए । त्यही आह्वानलाई महामन्त्रीद्वयले विज्ञप्तिमार्फत ऐक्यबद्धता जनाएका हुन् ।
पार्टीको संस्थापनले विशेष महाधिवेशनको औचित्य सकियो भन्ने र महामन्त्रीद्वयले आह्वान गर्ने विषयले कांग्रेस अब एक रहन्छ कि रहन्न भन्ने चिन्ता कार्यकर्ता र शुभचिन्तकमा बढाएको छ ।
तर, महामन्त्रीद्वयले विज्ञप्तिमा पार्टी नफुट्ने बताएका छन् । थापा र शर्माले पार्टी फुटबारे विज्ञप्तिमा लेखेका छन्, ‘हामी पार्टीमा नयाँ ऊर्जा भर्न दृढ संकल्पित छौँ । जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न हामी कटिबद्ध छौँ ।’
विज्ञप्तिमा मात्र होइन, थापा र शर्माले व्यक्तिगत रूपमा पनि विशेष महाधिवेशनले पार्टी नफुटाउने दाबी गर्दै आएका छन् ।
थापाले बुधबार कांग्रेसका नेताद्वय डा. चन्द्रकान्त भण्डारी र सुनिल शर्मासँगको कुराकानीमा बरु आफू विष पिउन तयार रहेको तर पार्टी फुट्न नदिने बताए । भणडरीले सार्वजनिक गरेको भिडियोमा थापाले भनेका छन्, ‘तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्ता र शुभचिन्तकलाई आश्वस्त बनाउन चाहन्छु, पार्टी फुट्दैन । कसैले चाहेर पनि पार्टी फुट्दैन । साँच्चिकै अप्ठ्यारो अवस्था आयो भने बरु विष पिउँछु नि म । बरु आफूले विष पिएर भए पनि यसको एकता जोगाइराख्नेछु ।’
अर्का महामन्त्री शर्माले बिहीबार बिहान सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै विभाजनको आशंका अस्वीकार गरेका छन् । विशेष महाधिवेशनलाई लिएर विवाद चर्किंदै गएको बेला महामन्त्री शर्माले आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन । यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु ।’
दुवै महामन्त्रीले भने अनुसार हुने हो भने पार्टी फुट्दैन । त्यसपछि प्रश्न उठ्छ– उसो भए विशेष महाधिवेशनले के गर्छ ?
विशेष महाधिवेशन पक्षधर नेता मनोजमणि आचार्यले नियमित महाविधेशनले गर्ने सबै काम विशेष महाविधेशनले गर्ने बताए । ‘नियमित अधिवेशनले गर्ने सबै काम विशेष अधिवेशनले गर्न पाउँछ । महाधिवेशनको बन्दसत्रले जे तय गर्छ, ती निर्णय हुन्छ,’ आचार्यले भने, ‘बन्दसत्रले जे एजेण्डा तय गर्छ, त्यही निर्णय हुन्छ ।’
आचार्यले नेतृत्व परिवर्तनको एजेण्डा तय भएमा नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ट पारे । उनले भने, ‘नीतिका बारेमा मात्रै छलफल गरौँ भन्यो भने नीतिमा मात्रै छलफल हुन सक्छ ।’
संस्थापन नै विशेष महाधिवेशनमा सहभागी नभएको अवस्थामा विशेष महाधिवेशन वैधानिक हिसाबले भयो कि भएन भन्ने मापन कसरी हुन्छ भन्नेप्रश्नमा आचार्यले भने, ‘कांग्रेसमा स्वतन्त्र निर्वाचन समितिको परम्परा छ र विधानमा पनि व्यवस्था छ । त्यही व्यवस्था अनुसार कानुन व्यवसायीहरूको निर्वाचन समिति बनाउँछौँ । उसले विधान अनुसार भयो कि भएन भन्ने निर्क्यौल गर्छ ।’
विशेष महाधिवेशन पक्षधर अर्का नेता सुवास पोखरेलले महाधिवेशनले नीति र नेतृत्व दुवै परिवर्तन गर्ने बताए । ‘विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै परिवर्तन गर्छ,’ पोखरेलले भने ।
संस्थापन पक्ष सहभागी भएन भने वैधानिकता मापन गर्ने कसरी भन्ने प्रश्नमा पोखरेलले भने, ‘उहाँहरू आउँदिन भन्नै पाउनुहुन्न । विधान बाध्यकारी हो । आउनैपर्छ ।’






