प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा लामो छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा झन्डै ४ घण्टा छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो ११ बजेदेखि साढे २ बजेसम्म भएको भेटवार्तामा मुख्यतः आगामी निर्वाचनका विषयमा केन्द्रित छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

छलफलमा फागुन २१ गते हुने निर्वाचनको तयारी, समग्र राजनीतिक अवस्था र सुरक्षासम्बन्धी विषयमा कुराकानी भएको बताइएको छ। अध्यक्ष ओलीले निर्वाचनको वातावरण बनेमा एमाले चुनावबाट नभाग्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचनका लागि आवश्यक सबै प्रबन्ध मिलाइसकेको बताउँदै ढुक्क भएर प्रक्रियामा सहभागी हुन आग्रह गरेकी थिइन्। उनले बदलिएको राजनीतिक परिस्थितिमा पनि एमालेले महाधिवेशन सम्पन्न गर्दै निर्वाचन केन्द्रित गतिविधिमा सक्रियता देखाएकोमा खुसी व्यक्त गरेको जनाइएको छ।

भेटका क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत चासो राखेका थिए। छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र आगामी दिनमा राजनीतिक संवादलाई निरन्तरता दिने विषयमा दुवै पक्ष सहमत रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *