ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्याम कुमार कटुवाल नियुक्त हुनुभएको छ । वैशाख १३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले उहाँलाई संस्थाकोे प्रमुख कार्यकारी अधिकृत पदमा वैशाख १४ गते देखि लागु हुने गरी आगामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
नव नियुक्त प्रमुख कार्यकारी अधिकृत कटुवाललाई अर्थ मन्त्रालयमा अर्थमन्त्री श्री जनार्दन शर्माको उपस्थितिमा संस्थाका सञ्चालक समितिका अध्यक्ष धन बहादुर बरुवालले प्रमुख कार्यकारी अधिकृतको पद तथा गोपनियताको सपथ गराउनुभयो ।
सो अवसरमा सञ्चालक शिवहरी दंगाल, मनोज कुमार खडका, भरतराज कोइराला र बाग्मती प्रदेश कार्यालय अन्तर्गत काठमाडौं उपत्यका भित्रका यस संस्थाका शाखा प्रवन्धकहरुको समेत उपस्थिति रहेको थियो ।
यसअघि कटुवाल सोही संस्थामा १ वर्ष ९ महिना कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहनुभएको थियो । अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर गर्नु भएका कटुवालको बैंकिङ र लघुवित्त क्षेत्रमा करिव २८ वर्षभन्दा बढीको कार्यानुभव रहेको छ । सञ्चालक समितिले उहाँलाई नियुक्त गरेसँगै संस्थाले नयाँ उचाइ लिने विश्वास व्यक्त गरिएको छ ।






