समानुपातिक बन्द सूचीको गल्ती सच्याउन २७ गतेसम्मको समय

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएका बन्दसूची सम्बन्धी कागजातहरूको जाँच र रुजु प्रक्रिया सम्पन्न गरेको छ। आयोगका तथ्यांक शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरका अनुसार, पुस १६ देखि २० गतेसम्म दलहरूले बुझाएका बन्दसूचीका कागजातहरू जाँच गरिएको हो।

रुजु गर्ने क्रममा देखिएका त्रुटिहरू छुट्याएर सम्बन्धित दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइनेछ। उमेर नपुगेको, कागजात अपूर्ण वा अन्य कुनै त्रुटि भएका उम्मेदवारहरूको विवरण दललाई सच्याउन पठाइनेछ। उनले बताएअनुसार, २१ देखि २७ गतेसम्म दलहरूले त्रुटि सच्याएर पुनः बन्दसूची बुझाउन पाउनेछन्।

अन्तिम सूची सार्वजनिक हुनुअघि, इच्छुक उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था पनि गरिएको छ। समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारले २८ गतेसम्म उम्मेदवारी फिर्ता लिन पाउनेछन्। यसबारे आयोगले सम्बन्धित दललाई जानकारी दिनेछ।

दलहरूले पेस गरेको अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूची निर्वाचन आयोगले सार्वजनिक गर्नेछ।

फागुन २१ मा हुने निर्वाचनका लागि दलहरूले पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाएका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *