अनुसन्धान नै नभइ बिदा हुँदै पशुपति भेटी चोरीका मुख्य आरोपी कोषाध्यक्ष सुवेदी

काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्यकाल सकिँदैछ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालको पहुँचका कारण भेटी चोरीको संरक्षककर्ता सुवेदीले अनुसन्धान नभइ उन्मुक्ति पाउने भएका हुन्।

भेटी चोरीमा संलग्न अभियुक्तले रंगेहात पक्राउ पर्दा ‘कोषाध्यक्ष नारायण सुवेदीले नै भेटी चोर्न अर्‍हाएको बयान दिएका थिए। उनको कार्यकाल पुस १७ गते सकिँदैछ। तर तत्कालीन नेकपा एकीकृत समाजवादीको निर्वाचन समिति सदस्य समेत रहेका कोषाध्यक्ष सुवेदीले प्रहरीमाथि राजनीतिक दबाब बढाएपछि अनुसन्धान भएन। भेटी चोरी प्रकरणको अनुसन्धानमा खटिएका गौशाला प्रहरीका तत्कालीन एक अधिकृतले ‘सुवेदीलाई नछुन माथिबाटै दबाब आएपछि’ अनुसन्धान गर्न नसकिएको बताए।

महाशिवरात्रि पर्वमा आफ्नै सम्धिनीलाई रंगरोगनको ठेक्का दिलाउने, जुत्ता चप्पलको झोला, बागमती नदीको बालुवा सम्याउनेसहित विभिन्न आर्थिक अपचलनमा परेका सुवेदी पुनः कोषाध्यक्ष बन्न सिंहदरबार धाउने गरेको छन्।
२०८१ जेठ ७ गते पशुपतिनाथ मन्दिरभित्रै भेटी चोर्दा चोर्दै मन्दिर परिसरबाट अभियुक्तहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको थियो।

भेटी चोरीमा संलग्न कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ बस्ने ३४ वर्षका अनिल परियारले कोषाध्यक्ष सुवेदीले ज्याकेट लगाएर आउनू भन्ने र रकम संकलनपछि लुकाएर आफ्नो जिम्मा लगाउन भन्ने गरेको बयान दिएका थिए। ‘सीसीटीभी छ, हामी यस्तो काम नगर्ने भन्दा केही हुँदैन, कसैले देख्दैन गर भन्नुभयो, अनि गरेको,’ उनले बयानमा भनेका थिए।

नेकपा एमालेको कर्मचारी संगठनमा हुँदा नै पूर्वप्रधानमन्त्री नेपालसँग नजिकिएका कोषाध्यक्ष सुवेदीको नैतिक र आर्थिक आचरणका सन्दर्भमा पनि तत्कालीन नेकपा एकीकृत समाजवादीका नेताहरूसम्म गुनासो पुगेको थियो। तर कुनै कारबाही भएन।
भेटी चोरीमा संलग्न कोषका तत्कालीन नायब सुब्बा नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत नवराज घिमिरे, कागेश्वरी मनोहरा वडा नं. ९ बस्ने ३५ वर्षका कुमार दमाईं परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १२ का २९ वर्षीय सञ्जय कपालीलगायत पक्राउ परेका थिए। परियारद्वय र कपाली कोषका बाजा बजाउने कर्मचारी हुन्। कोषाध्यक्ष सुवेदीलाई २०७८ मा तत्कालीन पर्यटनमन्त्री एवं तत्कालीन एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले नियुक्त गरेका हुन्।

सम्धिनीलाई ठेक्का

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफ्नै सम्धिनीलाई पशुपति क्षेत्र विकास कोषले निकालेको टेण्डरमार्फत ठेक्का दिएका छन्। कोषाध्यक्ष सुवेदीले २०७९ को महाशिवरात्री पर्वमा पशुपतिनाथ मन्दिर र मन्दिर परिसरमा रगरोगन गर्ने ठेक्का आफ्नै सम्धिनी शशिकला पराजुलीलाई दिएका हुन्। खुला प्रतिस्पर्धाबाट ठेक्का दिनुपर्ने भए पनि कोषाध्यक्ष नारायण सुवेदीले आफ्नो पहुँचकै आधारमा सम्धिनीलाई ठेक्का सुम्पिएका हुन्। २०७९ को महाशिवरात्री पर्वमा पशुपतिनाथ मन्दिरमा रंगरोगन गर्नका लागि ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। टेण्डर गरेर काम गराउँदा २७ लाख रुपैयाँ खर्च भएको थियो।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१, ठेगाना भएको एफएए सप्लायर्स प्राइभेट लिमिटेडमार्फत रंगरोगनको भुक्तानी गरेको देखिन्छ। एफएए सप्लायर्स प्रालि कोषाध्यक्ष सुवेदीकी सम्धिनी शशिकला पराजुलीकै नातेदारको कम्पनी रहेको खुलेको छ। शशिकलाले ठेक्का लिएपछि रंगरोगनको सम्पूर्ण काम आफै गराएकी थिइन्। साथै ठेक्कामा गरिएको प्रतिवद्धता विपरीत कमसल खालको जुत्ता चप्पलको झोला खरिद गरेपछि कोषाध्यक्ष सुवेदीले आर्थिक अपचलन गरेको खुलेको थियो। तर उनीमाथि अनुसन्धान भएन। कोषको आर्थिक महाशाखाका कर्मचारीबाट चेक लिने, साट्नेदेखि श्रमिकलाई भुक्तानी दिनेसम्मको काममा कोषाध्यक्ष सुवेदीको संरक्षणमा शशीकलाले नै गरेकी थिइन्। कोषको आर्थिक महाशाखाका कर्मचारीले पनि नारायण सुवेदीले आफ्नै सम्धिनीलाई ठेक्का दिएको पुष्टि गरेको थिए। यस विषयमा बुझ्न सुवेदीलाई सम्पर्क गर्दा फोन उठाएनन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *