काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता महसुल बुझाएपछि रुपन्देहीका चार उद्योगको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालकाअनुसार, भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका पञ्चकन्या प्लास्टिक, पञ्चकन्या स्टिल, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले लामो समयदेखि बाँकी रहेको प्रिमियम महसुलको पहिलो किस्ता सोमबार बुझाएका हुन् ।
पहिलो किस्ता भुक्तानी गरेसँगै प्राधिकरणले उनीहरूको लाइन जडान गरिदिएको उनले बताए ।
प्राधिकरणका अनुसार, ती उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेबापतको प्रिमियम शुल्क तिर्न बाँकी थियो ।
भुक्तानी गर्ने उद्योगहरूमा पञ्चकन्या प्लास्टिकको रु. २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको रु. ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको रु. १ करोड ८३ लाख र श्याम प्लास्टिकको रु. ४९ लाख १० हजार बक्यौता रहेको छ ।






