काठमाडौं । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरण पेस गरेका छन् ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच उक्त विवरण हस्तान्तरण गरिएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २९ बमोजिम महालेखा नियन्त्रक कार्यालयले तयार पारेको उक्त प्रतिवेदनमा नेपाल सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय अवस्था प्रस्तुत गरिएको छ ।
ऐनको दफा ३३ को उपदफा ११ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७८ को उपनियम ७ बमोजिम आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदनसहित एकीकृत विवरण पेस गरिएको हो ।
कार्यक्रममा महालेखा नियन्त्रक पौडेलले नेपालको संविधान, प्रचलित ऐन र अन्य कानुनको अधीनमा रही सङ्घीय सञ्चित कोषको सञ्चालन गर्ने तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुनको आधारमा एकीकृत वित्तीय विवरण र प्रतिवेदन तयार गर्ने जिम्मेवारी अनुसार निर्धारित समयभित्रै प्रतिवेदन पेस गरिएको जानकारी दिए ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको सञ्चित कोष रु १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक रहेको छ, भने विभिन्न कोष र एक्स्ट्रा बजेटरी निकायका मौज्दातका आधारमा नगद तथा बैंक मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक देखिएको छ ।







