आपत्तिजनक अवस्थामा भेटिए एनआईसी एशिया बैंकका कर्मचारी, ग्राहकको निक्षेप असुरक्षित

काठमाडौं । एनआईसी एशिया बैंकका कर्मचारी मदिरा पदार्थ सेवन गरी कार्यकक्षमै जुवा खेलिरहेको अवस्थामा भेटिएका छन्।

कपिलवस्तु जिल्लाको तौलिहवास्थित एक शाखामा शुक्रबार राती बैंकका शाखा प्रबन्धक निरज भुसालसहितका कर्मचारी आपत्तिजनक अवस्थामा भेटिएका हुन्। उक्त घटना सार्वजनिक भएपछि बैंक तथा वित्तीय सँस्थाको सुशासनमाथि गम्भीर प्रश्न खडा भएको छ।

स्थानीयका अनुसार २०८२ साल असोज ३१ गते राती करिब १० बजे कार्यालय समय समाप्त भइसकेपछि समेत बैंकको भवनमा बत्ती बलिरहेको र ढोका खुला देखिएपछि उनीहरूले शंका व्यक्त गर्दै प्रहरीलाई खबर गरेका थिए।

सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले घटनास्थलमा आकस्मिक छापा मार्दा बैंकका केही कर्मचारीहरू शाखा प्रबन्धक निरज भुसाल,रिकभारी विभागका सौरभ श्रीवास्तव, क्रेडिट रिकोभरीका रिलेसनसिप मेनेजर सुरज कुमार कसौधान, र पप्पु चौधरी मदिरा सेवन गर्दै तास खेल्दै गरेको अवस्थामा फेला परेका छन् । यस घटनाले बैंकको सुरक्षा प्रणाली, कर्मचारीको सँस्थागत आचरण र प्रशासनिक अनुशासनप्रति गम्भीर प्रश्न उब्जाएको स्थानीयहरुको गुनासो छ।

एक स्थानीय भन्छन् ,- “नियमविपरित रातको समयमा समेत बैंक खुला राखेर यस्तो गैरकानुनी गतिविधि गरिनु अत्यन्त गैरजिम्मेवार कार्य हो। यदि भोलि बैंकमा कुनै चोरी वा ठूलो आर्थिक दुर्घटना भयो भने ग्राहकको निक्षेप सुरक्षा र यसको जिम्मेवारी कसले लिने ? यसबारे बैंक व्यवस्थापनले स्पष्ट जवाफ दिनुपर्छ।”

स्थानीय बासिन्दाहरूले यो घटनालाई वित्तीय संस्थामा देखिएको अनुशासनहीनता र लापरवाहीको ज्वलन्त उदाहरणका रूपमा लिएका छन् । बैंकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीहरूले आचरण संहिताविपरित यस्तो व्यवहार गर्नुले सम्पूर्ण बैंकिङ प्रणालीमाथि नै अविश्वास पैदा गरिरहेको उनीहरूको भनाइ छ ।

प्रहरीका अनुसार हाल घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ । तत्कालका लागि उनीहरुलाई सचेत गराइएको भए पनि आवश्यक कारवाहीका लागि बैंक प्रशासनसँग समन्वय भइरहेको प्रहरीले जानकारी दिइएको छ । तर, बैंकको तर्फबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन ।

यस घटनापछि एनआईसी एशियाबैंकको सामाजिक सञ्जाल तथा स्थानीय स्तरमा तीव्र आलोचना भइरहेको छ भने यस घटनाले वित्तीय संस्थाहरूमा निगरानी, आन्तरिक अनुशासन र सुरक्षा व्यवस्थाको पुनरावलोकन हुनुपर्ने चौतर्फी माग उठिरहेको छ।

भिडियो:

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *