काठमाडौं । नेपाल राष्ट्र बैंकले यस दशैंमा सर्वसाधारणका लागि नयाँ नोट सटही सेवा नदिने भएको छ । राष्ट्र बैंकले नयाँ नोटको सट्टा एक पटक प्रयोगमा आइसकेका तर राम्रो अवस्थामा रहेका सुकिला नोट साट्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलकाअनुसार ५ रुपैयाँ दरको नोट मात्र नयाँ हुनेछ, बाँकी दरका नोटहरू सुकिला नै साटिनेछन् ।
राष्ट्र बैंकले काठमाडौंको थापाथलीस्थित बैंकिङ कार्यालय, सातै प्रदेशका प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरुमार्फत सुकिला नोट सटहीको व्यवस्था गर्ने तयारी गरेको छ ।
पौडेलकाअनुसार सुकिला नोट दशैंमा मात्र होइन, वर्षभरि जुनसुकै बेला पनि साट्न सकिनेछ । तर दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाइने व्यवस्था मिलाइनेछ ।
राष्ट्र बैंकले भदौको अन्तिम वा असोज लागेसँगै औपचारिक सूचना प्रकाशित गरी नोट साट्ने प्रक्रिया सुरु गर्ने बताइएको छ ।






